मिलन तिमिल्सिना -
मन पर्ने अरु मान्छेका फेस हेर्न पाइने,
आफ्नो बिग्रेको फेसलाई सिंगारपटार गरेर राख्न मिल्ने, पिसाब गरेकोदेखि
हिसाब गरेकोसम्मका कुरा बढाईचढाई वयान गर्न पाइने, हाइ हेलो भन्दै मन
पर्नेसँग मनका कुरा साट्न र मन नपरेकालाई तथानाम गाली गर्न पाइने भएकाले
फेसबुकले सबैलाई भुलाएको छ ।
हातमा मोवाइल छ, साथमा कम्प्युटर । इन्टरनेट समेत भयो भने फेसबुक खुल्छ । फेसबुक खुलेपछि मान्छे त्यसै भुल्छ ।
फेसबुक चलाउने पनि कस्ता कस्ता । कोही
कोही पुलिसले गुन्डा खोजे झैं सर्च गर्ने मात्र हुन्छन् । राम्रा राम्रा
मान्छे को कहाँ छ भनेर धुईंपत्ताल खोज्ने, मन पर्ने बित्तिकै लाइक र कमेन्ट
ठोक्ने । अनि अर्काथरी हुन्छन्, जहाँ गए पनि फेसबुक चलाइरहने, अपडेट
गरिरहने । भात खाँदै, सुत्दै, उठ्दै, खोक्दै, हिँड्दै, भात पकाउँदै, अचार
मोल्दै......। अझ चर्पीभित्र पसेर डाउनलोड गर्न बसिरहेको मान्छेले समेत आफू
के गर्दैछु, त्यो पनि फेसबुकमा अपलोड गरौंला झैं गर्छ ।
आज बुढीसँग झगडा पर्यो, आज बुढासँग ठाकठुक
भयो । यी मेरा बुढा, उनी मेरी बुढी । यी चाहिँ मेरी गर्लफ्रेन्ड, उ मेरो
व्वाईफ्रेन्ड । हरेकलाई चिनाइरहेको हुन्छ । लभ परेको, डेट गएको, भेट भएको
सबै कुरा फोटो सहित फेसबुकमा अपडेट गर्न भ्याइसकेका हुन्छन् । धन्न अलि
पहिले राजेश हमाल बाहेक अरु कसैले पनि हनिमुनको फोटो चाहिँ फेसबुकमा अपलोड
गर्न भ्याइसकेका छैनन् ।
जहाँ पुगे पनि, जे गरे पनि, जसलाई भेटे
पनि, जे भए पनि फेसबुकमा स्टाटस लेखिरहने, फोटो हालिरहने मान्छे लाइक र
कमेन्टका सधैं भोका हुन्छन् । बरु उनीहरुलाई पेटभरी भात र खाजा चाहिँदैन ।
तर लाइक र कमेन्ट भने आँखाभरी चाहिन्छ । कुन स्टाटसमा कति लाइक र कमेन्ट
आयो भनेर उनीहरु हिसाब गरेर बसिरहन्छ् । त्यही लाइक र कमेन्ट कमाउनकै लागि
फेसबुकमा स्टाटस अपडेट र फोटो अपलोड गरेजस्तो ।
अझ फेसबुक चलाउनेलाई लाइक कहाँ गर्नुपर्छ
भन्ने कुरा पनि पत्तो छैन । लाइक भनेको मन पर्यो । कसैले फेसकुमा लेखेको
हुन्छ–तनावमा, फलानोको मृत्यु भयो, फलानो साह्रै बिरामी भयो, उसलाई साह्रै
आपत पर्यो ।
दुःख, पीर र चिन्तामा भएको मान्छे त
फेसबुक चलाउनुको सट्टा चुप लागेर झोक्राएर पो बस्नुपर्ने हो । तर
आफू फेसबुक चलाउन नसक्नेगरी दुःखमा डुबेको छु भन्ने कुरा आफूलाई मात्र थाहा
भएर त भएन नि ! त्यसैले अरुलाई थाहा दिन फेसबुकमा लेख्नुपर्यो । अनि उसको
स्टाटस अर्कोले फेसबुकमा हेर्छ । उसलाई थाहा छ कि सकेसम्म कमेन्ट
गर्नुपर्छ, नभए लाइक मात्रै भएपनि ठोक्नुपर्छ, नत्र उ रिसाउँछ । त्यसैले
स्टाटसमा के लेखेको छ भनेर राम्रोसँग पनि पढ्दैन । स्टाटस देख्ने बित्तिकै
लाइक ठोक्छ । मान्छे मर्यो भन्दा पनि मन पर्यो, बिरामी भयो भन्दा पनि मन
पर्यो, आपदमा छु भन्दा पनि मन पर्यो, तनावमा छु भन्दा पनि मन पर्यो । के मा
मात्र मन पराउनु !
कतिपयको स्टाटस र फोटो हेर्दा लाग्छ,
उनीहरुले फेसबुकमा फोटो राख्नकै लागि बच्चा जन्माएका हुन् । फेसबुकमा
राख्नकै लागि विवाह गरेका हुन् । अझ कतिपयले गाउँ जाँदा हलो जोतेको, भारी
बोकेको, भात पकाएको, भाँडा माझेको मोडलिङ गरेर पनि फोटो खिचाउँछन् र
फेसबुकमा राख्छन् । हाम्रो हजुरबा हजुरआमाहरुको पालामा फेसबुक भएको भए
गोठालोमा दोहोरी खेलेको, सुन्तला चोरेर खाएको, खेतमा पानी लाउन गएको,
मेलापात र जात्रामात्रा गएको फोटो फेसबुकमा कति राख्नुहुन्थ्यो होला । अनि
अहिले पनि हामी त्यो फोटो हेरेर कति लाइक ठोक्थ्यौं होला ।
कतिपय यस्ता पनि छन्, जो लौन मलाई लाइक
गर, मलाइ एड गर, उसलाई भोट गर, यसलाई भेट गर, मलाइ हेर, मलाई पछ्याउ भनेर
इन्भाइट पनि गर्छन् । अरुलाई उ मन पर्छ पर्दैन भन्ने पत्तो हुँदैन, तैपनि उ
मलाई मन पराउ न भनेर इन्भाइट गरिरहेको हुन्छ । यस्तालाई ठीक पार्न
फेसबुकमा केही बटन थाप्नुपर्यो । लाइक गर्न या मन पराउन मात्र पाइने बटन छ ।
खै अनलाइक गर्न या मन पराउँदिन भन्ने बटन ? फेसबुकमा धेरैको स्टाटस र फोटो
त मन नपर्ने खालको पनि हुन्छ । यस्तलाई त अनलाइक भन्न, मन परेन भन्न
पाइयोस् न !
फेसबुक नचलाउने त कुनै पनि प्रदेशमा
नपर्ने नागरिक जस्तो । भर्खर स्कुल जान थालेको नाति गाउँमा गएर बुढा हजुरबा
हजुरआमालाई भन्छ–मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउनुस् न म कन्फर्म
गरेर बेलाबेला च्याट गरौंला । बिचरा चाउरिएको फेस झनै झनै चाउरिनेगरी
हजुरबा हजुरआमा ट्वाँ ।
पहिले पहिले कसैलाई खबर पठाउनुपर्दा,
प्रेमिकालाई फकाउनुपर्दा पानाभरी लेखेर चिठी कोर्नुपथ्र्यो । टेलिफोन
गर्नुपथ्र्यो । चिठी त हराइसक्यो नै । फोनमा भन्दा पनि फेसबुकको च्याटमै
कुरा गर्ने बानी धेरै भैसकेको छ । च्याटमा कुरा गर्दा केही शब्द नै
दुब्लाएर सकिनै लागिसके । अंग्रेजीमा हेलो हाउ आर यू भन्नुपर्ने ठाउँमा
च्याटमा कुरा गर्दा हे यू अरे । आइ लभ यु को ठाउँमा आइ एल यू, १२३ अरे ।
ह्वाट अ म्यान अरे । प्लिज नभनेर पिएलजेड अरे । थ्याँक यू लाई टीक्यू रे ।
वेलकमलाई डब्लुसी रे । फेसबुकले त शब्द भण्डार नै खाली गराउने हो कि भन्ने
डर पो भैसक्यो त ।
विद्यार्थीले त हिजोआज कोर्सबुक नै हेर्न
छाडे । फेसबुक मात्र हेरेर दिन बिताउने भए । भर्खर जन्मेको केटाकेटीलाई पनि
फेसबुक नै चलाउनुपर्ने । जन्मँदा जन्मँदै उसले आफ्नो स्टाटसमा म
धर्तीमा...भनेर स्टाटस लेख्ला कि भन्ने डर । अनि मर्नै लागेको मान्छेले पनि
अब तपाईंको अन्तिम ईच्छा के छ भन्दा खै फेसबुकमा मैले धर्ती छाडें भनेर
लेख्न पर्यो भनेर मोवाइल या ल्याटप माग्ला भन्ने डर । अनि मैले यसो गरें,
मैले उसो गरें भनेर स्टाटस लेखेजस्तै म मरें, म स्वर्ग हिँडे, आहा क्या
रमाइलो स्वर्ग, कस्तो घिनलाग्दो नर्क...भनेर लाइभ अपडेट गर्ने दिन पनि आउने
पो हो कि त !Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.
No comments:
Post a Comment