काठमाडौँ : कैद सजाय भन्ने बित्तिकै २४ सै घण्टा जेलभित्र बस्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ। संसदले आज पारित गरेको फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७४ ले शनिबार वा रातिमात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिने व्यवस्था गरेको छ।
विधेयकको दफा २७ मा सप्ताहको अन्तिम दिन वा रात्रीकालीन समयमा मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिने बारे उल्लेख छ।
एक वर्षसम्म कैद निर्धारण भएको कसूरदारले मात्र यस्तो सुविधा पाउने छन्।
'गरेको कसूर, उमेर, कसूरको गम्भीरता, कसूर गरेको तरिका र आचरण समेतलाई विचार गर्दा नियमित रुपमा कैदमा राख्न उपयुक्त
नदेखिएमा सो को कारण खोली अदालतले सप्ताहको अन्तिम दिन मात्र वा दैनिक रुपमा रात्रिकालीन समयमा मात्र कारागारमा बस्न पर्ने गरी कैद निर्धारण गर्न सक्नेछ' उपदफा १ मा उल्लेख छ।
तर यी १२ अपराधमा कसुरदार ठहरिएकाले यस्तो सुविधा पाउने छैन-
(क) कर्तव्य ज्यान,
(ख) जवर्जस्ती करणी,
(ग) मानव बेचबिखन तथा ओसारपसार,
(घ) हातहितार, खरखजाना तथा विष्फोटक पदार्थ,
(ङ) भ्रष्टाचार,
(च) शरीर बन्धक लिने वा अपहरण गर्ने,
(छ) डाँका,
(ज) खोटा टक वा खोटा टिकट चलन,
(झ) विदेशी विनिमय,
(ञ) लागू औषधको सेवन बाहेकका सो सम्बन्धी अन्य कसूर,
(ट) प्राचीन स्मारक सम्बन्धी,
(ठ) वन तथा वन्यजन्तु सम्बन्धी ।
अदालतले सजाय निर्धारण गर्दा कसूरदारले पालना गर्नु पर्ने शर्तहरु तोकिदिन सक्नेछ।
शर्त पालना नगरेमा वा सो अवधिमा कैद सजाय हुने कुनै कसूर गरेमा निजले आफूलाई भएको कैदको पूरा अवधि कारागारमा बसी भुक्तान गर्नु पर्ने उल्लेख छ।
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७४ हिजै संसदले पारित गर्ने कार्यसूची रहेकोमा गणपूरक संख्या नपुगी स्थगित भएपछि आजको कार्यसूचीमा राखी पारित गरिएको हो।
यो व्यवस्था सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर लागू हुने भनी तोकेको मितिदेखि कार्यान्वयनमा आउने छ।
खुल्ला कारागारमा राख्न सकिने
यसैगरी विधेयकमा कैद अवधिको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रमुखको सिफारिसमा सम्बन्धित जिल्ला अदालतको न्यायाधीशले खुल्ला कारागारमा राख्ने आदेश दिन सक्ने व्यवस्था छ।“खुल्ला कारागार” भन्नाले कैदीले तोकिएको समयमा आफूलाई राखिएको ठाउँभन्दा बाहिर समेत गई कुनै काम गर्न पाउने गरी नेपाल सरकारले तोकेको कुनै ठाउँ सम्झनु पर्ने उल्लेख छ।
श्रम गर्नेलाई कैद कट्टा
तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय पाएको अठार वर्ष भन्दा बढी उमेरको र शारीरिक रुपमा स्वस्थ्य रहेको कसूरदारले चाहेमा निजलाई कारागारले सार्वजनिक कामको श्रममा लगाउन सक्ने र सार्वजनिक कामको श्रममा लगाइएको कसूरदारले प्रति तीन दिन श्रम गरे बापत थप एक दिनको दरले निजको कैद कटृा हुने व्यवस्था पनि विधेयकमा छ।Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.
No comments:
Post a Comment